२ पुस, काठमाण्डौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गल्छी(बेत्रावती(मैलुङ(रसुवागढी सडक दुई वर्षभित्र ‘डबल लेन’ मा निर्माण सम्पन्न गरिसक्ने बताएका छन्।
नेकपा एमाले रसुवाको सातौँ जिल्ला अधिवेशनलाई सदरमुकाम धुन्चेमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सीमावर्ती क्षेत्रमा एउटा र बेत्रावतीमा अर्को सुक्खा बन्दरगाह सञ्चालनमा ल्याइने बताए।
रसुवाको पर्यटन क्षेत्र र पवित्र धार्मिक स्थल गोसाइँकुण्डको संरक्षणमा विशेष ध्यान दिने बताउँदै उनले धुन्चे(गोसाइँकुण्ड केबुलकारको निर्माणबारे सरकारले विचार गर्ने आश्वासन दिए।
प्रधानमन्त्री ओलीले भूकम्पपीडितका लागि बासस्थान बनाउन सबै पक्षले सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याए । आवास निर्माणका लागि रु दुई लाख अनुदान र सहुलियत ऋणमा रु तीन लाख उपलब्ध गराउन सरकारले निर्णय लिइसकेको जानकारी पनि उनले दिए।
स्वच्छ र पारदर्शी तवरले जिल्लाको समग्र विकासमा सबै राष्ट्रसेवक दत्तचित्त भई अगाडि बढ्न निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो कार्वाहीप्रति असन्तोष प्रकट गरे। उनले काठमाडौंबाट सिधै लाङ्टाङ पुग्नु भई भूकम्पले पुर्याएको क्षतिको अवलोकन गरेका थिए।
उनले न्यानो लुगा कार्यक्रमअन्तर्गत प्रतिपरिवार रु १० हजार र कम्बलसमेत पीडित भूकम्पपीडित परिवारलाई वितरण गर्नुभएको रसुवाका प्रजिअ शिवराम गेलालले जानकारी दिए। प्रधानमन्त्री ओलीले ग्रामीण भेगमा भूकम्प प्रभावित बस्तीको पनि हवाई अवलोकन गरेका थिए।
एमाले रसुवा जिल्ला कमिटीका अध्यक्ष एवम् संसद् छोवाङ तेन्जिन तामाङको अध्यक्षतामा भएको सातौँ जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा सांसद् जनार्दन ढकाल, केन्द्रीय सदस्य, अन्य राजनीतिक दलका प्रतिनिधि र सर्वसाधारणसमेतको विशाल सहभागिता रहेको थियो।