चितवन – १२ औं चितवन हात्ती महोत्सव यही पुषको दोश्रो साता सौराहामा हुने भएको छ । आयोजक क्षेत्रीय होटल संघ सौराहाले सोमबार पत्रकार सम्मेलन गरी महोत्सवका बारे जानकारी गराएको हो ।
संघले प्रत्येक वर्ष पुषको ११ गतेदेखी हात्ती महोत्सव गर्दै आएको छ । महोत्सव अन्तर्गत यसवर्ष हात्ती दौडलाई परिमार्जन गरी इलेफेन्ट फास्ट वाक नाम दिएर संचालन गर्दै छ भने अन्य कार्यक्रम यथावत छन् । क्षेत्रीय होटल संघका प्रथम उपाध्यक्ष एवंम महोत्सव संयोजक सुमन घिमिरले भूकम्प र नाकाबन्दीले पर्यटन प्रर्वद्धनमा बाधा पुगेपनि हात्ती महोत्सव मार्फत संरक्षणसंगै राम्रो सन्देश अन्तराष्ट्रिय क्षेत्रमा विश्वास व्यक्त गरे ।
महोत्सवको मुख्य आकर्षकमा इलेफेन्ट फास्ट वाक, हात्ती वनभोज कार्यक्रम, हात्तीका छावाहरुबीचको रोमाञ्चकारी फुटबल प्रतियोगिता, हात्ती श्रृङ्गार प्रतियोगिता, गाडा, टाँगा र डुङ्गा दौड प्रतियोगिता र हात्तीको दिनचर्याका बारेमा जानकारी गराईने संयोजक घिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिए । इलेफेन्ट फास्ट वाकमा २० वटा हात्तीले प्रतिस्पर्धा गर्नेछन् भने छावाहरुको फुटवलमा ४ टिम सहभागी हुनेछ ।
त्यस्तै हात्ती श्रृङ्गारमा ५, गाडा दौमा २०, टाँगामा १८ र डुङ्गामा १० टिमको सहभागीता रहने मुल समारोह समितिका संयोजक घिमिरेले वताए । महोत्सव सम्पन्न गर्न ३७ लाख ६९ हजार ६ सय ३० रुपैया वजेट लाग्ने आयोजकको अनुमान छ ।