२९ मंसिर, काठमाडौं – विवादकाबीच नेपाल क्रिकेट संघ क्यानको एक पक्षले साधारणसभा गरेको छ । सोमबार राति भएको साधारणसभाले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्ष बाहेक अरु पदमा सर्वसम्मती भएको छ । सोमबार राति भएको साधारणसभाले अध्यक्षमा चतुर बहादुर चन्दलाई सर्वसम्मतले चुनेको हो । चन्द यस अघि क्यानका उपाध्यक्ष हुनुहुन्थ्यो ।
यस्तै साधारणसभाले वरिष्ठ उपाध्यक्षमा विनोद मैनाली, उपाध्यक्षमा शैलेसकुमार चौधरी र दिवाकर घले तथा महासचिवमा अशोकनाथ प्याकुरेललाई चुनेको छ । यस्तै क्यानको सदस्यामा १२ जना चयन भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद राखेपको निर्देशन विपरित एकतर्फी साधारणसभा भएको हो । राखेपको निर्देशन विपरित साधारणसभा गरेको भन्दै क्यानका अध्यक्ष टंक आङबुहाङ्गको पक्ष साधारणसभामा सहभागी भएन ।
एक पक्षको साधारणसभाबाट क्यानको नयाँ कार्यसमिति चयन भएपनि त्यसले मान्यता पाउने सम्भावना कम मात्र देखिएको छ । साधारणसभाले वैधानिकता पाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले मान्यता दिनुपर्छ । तर यो साधारणसभालाई आइसिसीले मान्यता दिएको छैन ।