Wed. Mar 5th, 2025

आर्थिक क्रान्तिका लागि नयाँ शक्ति – देवकोटा

Dhading Naya Shakti२६ मंसिर, धादिङ – नयाँ शक्ति अभियानका अभियन्ता खिमलाल देवकोटाले मुलुकमा एकचरणको राजनीतिक क्रान्ति पूरा भएकोले अब समृद्ध नेपालका लागि आर्थिक क्रान्तिको आवश्यकता रहेको बताएका छन् ।

नयाँ शक्ति अभियानको धादिङमा उद्घाटन गर्दै वरिष्ठ अधिवक्ता समेत रहेका देवकोटाले सात सालदेखि यता सुरु भएको राजनीतिक क्रान्तिको एउटा चरण पूरा भएको बताए । ‘अगाडि बढिसकेको राजनीतिक परिवर्तन र पिछडिएको आर्थिक सामाजिक सम्बन्धको अन्तरविरोध हल गर्न नेपालमा नयाँ शक्तिको आवश्यकता छ,’ नेता देवकोटाले भने, ‘अब आर्थिक क्रान्तिको नेतृत्व गर्ने अभिभारा पुराना पार्टीहरुले पूरा गर्न सक्दैनन् ।’
उनले संविधान निर्माणसँगै देशले राजनीतिकरुपमा कोल्टे फेरिसकेको विश्लेषण सुनाए । ‘नयाँ संविधान निर्माणसँगै आधारभूतरुपमा देशले कोल्टो फेरेको छ,’ उनले भने, ‘राजनीतिक क्रान्तिका लागि ‘डिजाइन’ भएका पुराना पार्टीहरुले आर्थिक विकासको नेतृत्व गर्न सक्दैनन्, यसकारण नयाँ शक्ति नयाँ राजनीतिक विकल्पको रुपमा जन्मन्छ ।’

उनले पुराना पार्टीहरुका भ्रष्टाचार, कुशासनबाट वाक्कदिक्क भइसकेका कार्यकर्ता र जनताहरु बिस्तारै नयाँ शक्तिमा लामवद्ध हुने विश्वास व्यक्त गरे ।
आफूलाई राष्ट्रवादी भन्नेहरुले देशलाई अहिलेको अवस्थामा पुर्याएको भन्दै उनले तथाकथित राष्ट्रवादीहरुको मकुण्डो बिस्तारै च्यातिने जिकिर गरे । ‘कमल थापाले दिल्लीमा गएर सम्झौता गरेर आएका छन्,’ उनले भने, ‘घुँडा टेक्दिन भन्थे, तर दिल्ली पुगेर नाकै टेकेर आए ।’ उनले नेपालको समस्या नेपालमा समाधान गर्नुपर्ने भन्दै देशबाहिर समाधान खोज्ने अवस्था सिर्जना गर्नेहरु राष्ट्रवादी हुननसक्ने जिकिर गरे ।
अभियानमा पूर्वमन्त्री तथा महिला नेतृ कल्पना धमलाले जनताले बहुमत दिएको बेला पालुंगटारमा विद्रोहको लाइन पास गरेर देशलाई एमाओवादीका केही नेताहरुले अहिलेको अवस्थामा पुर्याएको बताइन् ।

‘पुराना पार्टीहरु अपारदर्शिता, भ्रष्टाचार र कुशासनका प्रतिकका रुपमा स्थापित भइरहेका छन्,’ उनले भनिन्, ‘नयाँ पार्टी यो निस्सासिने अवस्थाको विकल्पको रुपमा आउनेछ ।’ उनले नयाँ शक्तिको घोषणा भएपछि आम जनता र देशमा नयाँ रक्तसञ्चार हुने र नयाँ विकल्पको रुपमा उक्त पार्टीले ठाउँ लिने बताइन् । भेलाले राजु नेपालको नेतृत्वमा नयाँ शक्ति अभियान धादिङको चयन गरेको छ । भेलामा पूर्वमाओवादीका नेतृत्व तहमा रहेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

About The Author

अन्य समाचारहरु: