नेपालमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी समस्याबाट प्रभाबित मानिसहरूको राष्ट्रिय रूपमा तथ्याङ्क नभए पनि कही जिल्लाहरूमा भएको अध्ययनहरूले जनसङ्ख्याको २० देखि ३० प्रतिशत मानिसहरूमा कुनै न कुनै रूपमा समस्या भएको देखाएकोे छ । बैशाख १२ को भुकम्प पश्चात यस्ता समस्याहरु झनै थपिएका छन् । जस्ले मानिसहरुमा उदानशिनता, आघातजन्य पिडा लगायतका मनोसामाजिक तथा मानसिक समस्या निम्त्याइरहेको छ । धादिङ जिल्लामा यस्ता समस्या समाधानमा सहयोग पु¥याउनका लागि जिल्ला स्वास्थ्य कार्यलय धादिङको समन्वयमा एकिकृत सामुदायिक विकास अभियान आइसिडीसी नेपाल, बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टिपिओ) नेपाल र इन्टरनेश्नल मेडिकल कोर आइएमसीले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ । यसै सन्दर्भमा रहेर बहुसांस्कृतिक मनोसामाजिक संस्था (टि.पि.ओ) नेपालका चिकित्सा मनोबिद्ध अन्जनकुमार ढकालसंग पाविलन्युज डटकम (www.pabilnews.com) का संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी
सबैले बुझ्ने भाषामा भनिदिनुहोस् न मनोसामाजिक समस्या कस्तो समस्या हो ?
– मनोवैज्ञानिक र सामाजिक कारकहरूबाट उत्पन्न हुने समस्या नै मनोसामाजिक समस्या हो । व्यक्ति र समाज बीच निरन्तर अन्तरक्रिया हुने गर्दछ । यस्तो अन्तरक्रियामा दौँतरी, पारिवारिक, सामाजिक, सांस्कृतिक, धार्मिक, विभिन्न समूह तथा अन्य थुप्रै बातावरणीय कारकहरूले व्यक्तिको मनोवैज्ञानिक अवस्थालाई प्रभाव पार्ने गर्दछ ।
मनोवैज्ञानिक अवस्था भनेको व्यक्तिको सोच, भावना र व्यवहारको पक्ष हो । यो अवस्था जति नकारात्मक बन्छ त्यति नै मनोसामाजिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पारी व्यक्तिमा मनोसामाजिक समस्या देखिने गर्दछ । यस्ता समस्या आइपरेमा मानिसले बाह््य सामाजिक र अन्य वातावरणमा अरूसँग सहज तथा प्रभावकारी रूपमा सम्बन्ध राख्न र व्यवहार गर्न कठिन महसुस गर्छन् । यसले गर्दा उसको सोचाइ, भावना, र व्यवहारमा प्रभाव पार्दछ । उदाहरणको लागि एउटा विवाहित महिलालाई उसको श्रीमान्, सासू, ससुरा, नन्द, देवर, अन्य नातेदार वा छिमेकीहरूले जति सकारात्मक व्यवहार, प्रेम, सहयोग, गर्छन् उसको सोचाइ, भावना र व्यवहार पनि सकारात्मक र स्वस्थ हुने गर्दछ ।
यदि सामाजिक वातावरण सहज नभएमा र नकारात्मक टीका टिप्पणी भएमा उसको सोचाइ, भावना र व्यवहारमा पनि नकारात्मक प्रभाव पर्न सक्दछ र उसमा मनोसामाजिक समस्या देखिन सक्छ । धेरैजसो मनोसामाजिक समस्या सामाजिक परिस्थितिले ल्याउने गर्दछ । उदाहरणका लागि घरेलु हिंसा, लैङ्गिक हिंसाले व्यक्तिमा आएको मनोवैज्ञानिक समस्या, दबाब, जातीय भेदभावले ल्याउने समस्या आदि हुन सक्छन् । समाजका सबै व्यक्तिहरुले बुझ्ने भाषामा भन्नुपर्दा, म एऊटा उदाहरणबाट प्रष्ट पार्न चाहन्छु, प्रमिला बृहत् परिवारमा बस्छिन् । घरमा श्रीमान् र २ छोराछोरी बाहेक सासू, ससुरा, देवर पनि छन् । श्रीमान् अफिसमा काम गर्छन् भने देवर काम नभएर गाउँ डुल्छन् । छोरा छोरी विद्यालयमा पढ्छन् । ठूलो परिवार भएकाले बिहान उठेदेखि बेलुकीसम्म उनलाई भ्याइनभ्याइ हुन्छ । बिहान उठ्ने घर सफा गर्ने, खाना तयार गरी सबैलाई खुवाएर अफिस अनि स्कुल पठाउने, घाँसदाउरा गर्ने, खाजा बनाउने, बेलुकीको खाना बनाउने आदि ।
घरको कामको बोझ त छँदैछ अर्कोतिर श्रीमान्ले रक्सी पिएर उनलाई गाली गर्ने, कुट्ने गर्छन् । सासू पनि नबोल्ने, छोरालाई कुरा लगाउने भएकाले उनी साह्रै दुःखी छिन् । आफ्नो कुरा सुन्ने मानिस नहुने, काम गर्दा पनि जस नपाउने, कसैसँग बोल्न नपाउने, आफ्नो कुनै दोष नभए पनि सबै कुराको दोषी उनलाई नै ठानिएकाले एक्लो महसुस गर्ने र एकोहोरो हुने गर्छिन् । आजकल उनलाई टाउको दुख्ने समस्या भएकाले स्वास्थ्य केन्द्र गई त्यहाँको सल्लाह अनुसार औषधी खाइन् तर औषधीले टाउको दुख्ने कम हुनाको साटो उल्टै बढ्दै गयो । त्यति हुँदा पनि श्रीमान् र परिवारले उल्टै ‘अल्छी’ को संज्ञा दिई गाली गरिरहेकाले दिक्क लागिरहने, कसैसँग बोल्न मन नलाग्ने, अल्छी लाग्ने, म नै दोषी वा मेरो कर्म दोषी भन्ने सोचाइ आउन थालेको छ । यो नै प्रमिलामा देखिएको मनोसामाजीक समस्या हो ।
मनोसामाजिक समस्याका मुख्य कारणहरू के के हुन् ?
– मनोसामाजिक समस्याका कारणहरू जैविकीय, सामाजिक सांस्कृतिक, वातावरणीय, पारिवारिक वातावरण र सम्बन्ध, मानसिक स्वास्थ्य, आर्थिक अवस्था, द्वन्द्व, सिकाई आदि हुन सक्छन् । अर्को शब्दमा भन्दा मनोसामाजिक समस्याका धेरै कारणहरू हुन सक्छन् र ती कारणहरू एक अर्काबाट पृथक हुँदैनन् । उदाहरणका लागि सामाजिक र सांस्कृतिक कारण, दाइजो, महिला हिंसा, भैmभगडा, परिवारबाट छुट्टिने, बेग्लाबेग्लै कारण भए पनि एकअर्कामा कुनै न कुनै रूपमा सम्बन्धित छन् । तर मनोसामाजिक सेवा दिइँदा विशेष कारण थाहा पाउनु आवश्यक भएकोले त्यही अनुसार लेखाजोखा गरिन्छ । जस्तै मानसिक र शारीरिक हिंसाबाट ग्रस्त भई तनाव र चिन्ता भएको महिला भएमा यसको मुख्य कारण सामाजिक (लैङ्गिक भेद) सांस्कृतिक (पितृसत्तात्मक, दाइजो प्रथा) सँग सम्बन्धित भए पनि मनोसामाजिक मनोविमर्शमा घरेलु हिंसा, महिलामा देखिएको तनाव र चिन्तामा बढी ध्यान दिने गरिन्छ जुन आवश्यक पनि छ । मनोसामाजिक समस्या उत्पन्न हुने कारणहरू यही हुन्छ भनेर भन्न सकिँदैन, यसका कारणहरू जे पनि हुन सक्छन् । कुनै पनि समस्यालाई मानिसले कसरी र कत्तिको महसुस गर्छन् त्यसमा निर्भर गर्दछ । उदाहरणका लागि उस्तै र उत्तिकै समस्या भए पनि कसैले समस्या समाधान गर्ने सकारात्मक बाटो खोज्छन् भने कसैले लागूपदार्थ दुव्र्यसन पनि गर्छन् या कसैले आत्महत्या पनि गर्न सक्छन् । कसैलाई सामान्य लागेको समस्या कसैलाई अति ठूलो लाग्न सक्छ त्यसकारण स्वास्थ्यकर्मीहरूले यस्तो अवस्थामा विशेष ध्यान दिनुपर्दछ ।
मानिसमा मनोसामाजिक समस्या वा पीडा छ भनेर हामीले कसरी थाहा पाऊन सक्छौँ त, पिडा व्यक्त गर्ने तरिकाहरू के के हुन सक्छन् ?
– मानिसले प्रायः शारीरिक रुपमा वा ब्यवहारमा पिडा व्यक्त गरिरहेका हुन्छन् । कतिपय अवस्थामा कुराकानीमा पनि व्यक्तिले असरहरू व्यक्त गरिरहेका हुन्छन् । तर कुराकानीमा व्यक्त गरिने समस्या र कठिनाइहरूलाई सही तरिकाले अर्थ बुझ्न आवश्यक हुन्छ । विभिन्न सामाजिक र सांस्कृतिक विश्वास र ब्यवहार अनुसार समस्यालाई व्यक्त गर्ने तरिकाहरू फरक फरक हुन्छ । यसरी नै समस्यालाई महसुस गरी त्यसलाई व्यक्त गर्ने तरिका पनि एउटै सामाजिक परिवेशका मानिसमा पनि फरक फरक हुन्छ । यसकारण समस्यालाई बुझ्न, मानिसको पारिवार, समुदाय, त्यहाँको चालचलन, विश्वास, रीतिरिवाज अनुसार समस्यालाई व्यक्त गर्ने तरिका बुझेमा व्यक्ति र उसको समस्यालाई बुझ्न सहयोग पुग्छ ।
सामान्यता नेपाली परिवेशमा व्यक्तिले आफूले महसुस गरेको समस्या र पीडालाई मौखिक भाषाको प्रयोग गर्दा मन भतभत पोल्छ, टाउको तातिन्छ, आत्मा रुन्छ, विरक्त लाग्छ, नरमाइलो लाग्छ भन्ने जस्ता कुराहरु गर्न सकछन् । त्यसैगरि कसैले जिउ सिरिङ्ग सिरिङ्ग हुन्छ, मुटु झस्किन्छ, मन चिसो हुन्छ, जिउ भारी हुन्छ, जिउ गल्छ, जिउ झन्किन्छ, छाती पोलेको जस्तो हुन्छ , छातीे थिचेको जस्तो हुन्छ, हात खुट्टा छुटेको जस्तो हुन्छ, लल्याकलुलुक अनुभव हुन्छ, सिल्कनु हान्छ भन्ने जस्ता अनुभवहरु व्यक्त गर्नुहुन्छ भने पनि उहाँहरुलाई मनोसामाजीक समस्या छ की भन्न सकिन्छ । यी र यस्ता समस्या व्यक्त गर्ने तरिकाहरू थाहा पाएमा स्वास्थ्यकर्मीहरूलाई मनोसामाजिक समस्या वा मानसिक रोग भएका मानिसहरूको लक्षण र यसको अर्थ बुझ्न निकै सहज हुन्छ । यस्ता समस्याहरू व्यक्तिको स्थान र परिवेश अनुसार उनीहरूले एउटै समस्यालाई पनि फरक फरक तरिकाले प्रयोग गरिरहेका हुन्छन् ।
मनोसामाजिक समस्याले मानिसमा के कस्ता असर पार्दछन् ? प्रष्ट पारिदिनुहोस् न ?
– मनोसामाजिक समस्याले मानिसको जीवनका विभिन्न पक्ष (मन, शरीर, व्यवहार र सम्बन्ध) मध्ये कुनै पनि पक्षमा असर पार्न सक्छ । जस्तै मानिसको मनमा असर पार्दा उसलाई चिन्ता लाग्ने , पीर लाग्ने, दुःख लाग्ने, रिस उठ्ने, तनावको महसुस गर्ने, एक्लोपनाको महसुस हुने, कसैसँग पनि अत्याधिक नजिकताको महसुस नहुने, शक्तिहीन महसुस हुने, ध्यान केन्द्रित गर्न नसक्ने, डर लाग्ने आदि समस्या हुन्छ भने शरिरमा पनि मनोसामाजिक समस्याले असर पार्न सक्छ । जसअन्तर्गत चिटचिट पसिना आउने, वान्ता गर्ने मुच्र्छा पर्ने, मुटुको धड्कन बड्ने, रिंगटा लाग्ने, पसिना आउने, रक्तचाप बढ्ने, थकित महसुस हुने, टाउको दुख्ने, पेट दुख्ने निद्रामा गडबडी हुने लगायतका समस्या देखा पर्छ । त्यसैगरि व्यवहारमा पनि असर पार्न सक्छ ।
मनोसामाजिक समस्याले मानिसको व्यवहारमा असर गर्दा मानिसलाई वाकवाकी लाग्ने, छटपटी लाग्ने, अत्यधिक क्रियाशील हुने, तर्सने, डराउने, निष्क्रिय हुने, अरूलाई विश्वास नगर्ने, यौन व्यवहारमा परिवर्तन, आवश्यकता भन्दा बढी सतर्कता अपनाउने, आक्रमक व्यवहार देखाउने, लागू पदार्थको प्रयोग गर्ने जस्ता समस्या उत्पन्न हन्छ । त्यसैगरि बनिराखेको सम्बन्धमा पनि एकाएक खटपट आऊन थालेमा पनि मनोसामाजीक समस्या छ भनेर बुझ्नुपर्दछ । अरूसँगको सम्बन्ध बिग्रने, परिवारमा डर, त्रास, शङ्काबाट सम्बन्ध खराब हुने लगायतका असर पनि पर्न सक्छ ।
यस्ता समस्यामा परेका व्यक्तिहरुलाई कसरी साधारण अवश्थामा फर्काऊन सकिन्छ त ?
– सर्वप्रथम त मनोसामाजिक तथा मानसिक समस्या पनि अन्य शारिरिक समस्या जस्तै हो, जुन नियमित उपचारा तथा मनोविमर्शबाछ निको हुन्छ भन्ने कुरा हामी सबैले बुझ्नु आवश्यक छ । त्यसपश्चात विभिन्न रुपमा सेवा उपलब्ध गराऊन सकिन्छ । जस्तैः मनोसामाजीक हेरचाह गर्ने । यो शारीरिक, मानसिक वा मनोसामाजिक समस्या भएका मानिसहरूलाई स्याहारकर्ता मार्पmत् पु¥याइने हेरचाह सेवा हो जुन स्वास्थ्य क्षेत्रमा नर्स तथा अनमी मार्फत् यस्ता सेवा प्रदान गरिन्छ । त्यसैगरि मनोसामाजिक सहयोग उपलब्ध गराऊने । जस्तैः आय आर्जन मुलक, शैंक्षिक, मनोशिक्षा, भावनात्मक आदि सहयोग, जसले मनोसामाजिक समस्या भएका ब्यक्तिहरूको समस्यालाई न्यूनिकरण गर्न सहयोग पुग्दछ । त्यसैगरि मनोविमर्शको माध्यमबाट पनि हामीले सेवा उपलब्ध गराऊन सक्छौँं । मानिसको विद्यमान असुविधा, कठिनाई वा व्यबहारमा परिवर्तन ल्याउन, सुधार गर्न वा समस्या समाधान गर्न सहयोग पु¥याउने उद्देश्यले समस्या भएको व्यक्ति र मनोविमर्शकर्ता बीच हुने योजनावद्ध छलफल वा कुराकानीको माध्यमबाट यो सेवा उपलब्ध गराऊन सकिन्छ ।
धादिङमा मनोसामाजिक स्वास्थ्य सम्बन्धी सेवा कसरी उपलब्ध गराइंदै आएको छ ?
– सर्वप्रथम त समस्या पहिचान गर्नका लागि हामिले धादिङका ग्रामिण महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई मनोसामाजिक तथा मानसिक समस्याका बारेमा तालिम प्राप्त बनाईसकेका छौँ । त्यस्तै धादिङको निलकण्ठ नगरपालिका संगै फुलखर्क, ज्याम्रुङ, सल्यान्टार लगायतका विभिन्न २५ गाऊँ विकास समितीमा हामीले मनोसामाजिक तथा मानसिक स्वास्थ्यका विषयमा अभिमुखीकरण तथा जनचेतनामुलक कार्यक्रम संचालन गरिरहेका छौँ । ती गाविसहरुमा हाम्रा सामुदायिक मनोसामाजीक सहजकर्ता, मनोविमर्शकर्ता तथा स्वास्थ्यकर्मीहरु सधैं उपलब्ध भइराखेका हुनुहुनेछ । त्यसैगरि सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र, गजुरी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल धादिङमा पनि यस विषयमा विज्ञ या भनौं तालिम प्राप्त डाक्टर तथा स्वास्थ्यकर्मीहरु हुनुहुन्छ । यहि माध्यमबाट समस्यामा परेका व्यक्तिहरुले सेवा लिन सक्नुहुनेछ ।
अन्तमा,
– मनोसामाजिक तथा मानसिक समस्या पनि अन्य शारीरीक समस्या जस्तै हो । जुन नियमित औषधी सेवन तथा मनोपरामर्शबाट निको हुन्छ । त्यसैले यदि तपाईंलाई या तपाईंको परिवारको कोही व्यक्तिलाई यस्ता समस्या छन् भने समस्या नलुकाऊनुहोस्, एकिकृत सामुदायीक विकास अभियान आइसिडीसी नेपाल, बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टिपिओ) नेपाल र इन्टरनेश्नल मेडिकल कोर आइएमसी हर्दम तपाईंहरुको सेवामा हाजीर छ भन्न चाहन्छु । त्यसैगरी यी तिन वटै कार्यलयको सहकार्य तथा जिल्ला स्वास्थ्य कार्यलय धादिङको समन्वयमा हामीले रेडियो कार्यक्रम मनोसामाजिक स्वास्थ्य पनि संचालन गरेका छौँ, हरेक मंगलबार साँझ ६ बजेदेखी रेडियो कार्यक्रम मनोसामाजिक स्वास्थ्य सुन्ने गर्नुभयो भने पनि यससम्बन्धी धेरै जानकारी पाऊन सक्नुहुन्छ ।