![](https://www.pabilnews.com/wp-content/uploads/2018/10/Dhading_Jesta_nagarik_parichaye_patra._photo.jpg)
![](https://www.pabilnews.com/wp-content/uploads/2018/10/Dhading_Jesta_nagarik_parichaye_patra._photo-300x194.jpg)
१७ असोज, धादिङ –
जिल्लाको थाक्रे गाउँपालिका –१० की लक्ष्मी सापकोटाले १ सय ९ वर्षको उमेरमा जेष्ठ नागरिक परिचय पत्र पाएकी छन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले गाउँमा नै पुगेर उनलाई परिचय पत्र वितरण गरे । ढिलै भएपनि जेष्ठ नागरिक परिचय पत्र खुसी लागेको सापकोटाले बताइन् । ‘परिचय पत्र लिएपछि यातयातका साधनमा र उपचारमा पनि पचास प्रतिशत सहुलियत हुने भन्ने सुनेकी थिए’, सापकोटाले भनिन्, ‘अब यस्ता सेवाहरुलाई उपभोग गर्न पाउने भएकी छु ।’
सात छोरा र दुई छोरीलाई जन्म दिएका सापकोटा अहिले कान्छा छोराकोमा बस्छिन् । छोराहरु आ–आफ्नै सुर गरेर बसेका छन् भने छोरिहरुको पनि बिहे भइसकेका छन् । उनी नातिनातिना खेलाएर दिन काट्ने गर्छिन् । कान्छा छोराले घरदेखि वडा कार्यलयमा ल्याइदिएका थिए । कान कम सुन्ने उनलाई बेलाबेलामा स्वास्थ्य समस्याले थला पार्ने गरेको छ । ‘बुढेसकाल लाग्यो, काम केही गर्न सक्दिन’ सापकोटाले भनिन्, ‘जेष्ठ नागरिकको परिचयपत्रको सेवा र वृद्धभत्ता नै बुढेसकालको सहारा बनेको छ ।’
लक्ष्मी मात्र होइन वडा कार्यलय पुगेका वडा नं ९ र १० का दुई सय भन्दा बढी वृद्धवृद्धाहरुले सेवा उपभोगका लागि जेष्ठ नागरिक परिचय पत्र लिएका छन् । सरकारको सेवा घर नजिकैबाट वितरण गर्दा वृद्धहरु थप लाभान्वित भएका छन् । लामो समय देखि आन्दोलनमा रहेका बृद्धहरुको मागलाई सम्बोधन गर्ने उदेश्यले अघिल्लो सरकारले ६० वर्ष उमेर पुगेका वृद्धहरुका लागि स्वास्थ्य विमा, स्वास्थ्य सेवा तथा यातायातमा पचास प्रतिशतको सहुलियत दिने निर्णय गरेको थियो । सोहि अनुरुप थाक्रे गाउँपालिकाले परिचय पत्र वितरण गरेको हो ।
गाउँपालिकाका अनुसार परिचय पत्र प्राप्त गरिसके पश्चात नगरिकताको अभावमा सोही परिचयपत्रले काम गर्छ भने सामाजिक सुरक्षा भत्ता तथा बैँक एकाउण्टका लागी समेत उक्र परिचय पत्र काम लाग्नेछ । जिल्लाका वृद्धहरुले चाँडै वृद्ध परिचय पत्र पाए राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता लगाएतका सुविधा उपभोग गर्न पाउने गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले बताइन् ।
नेपालको संविधान अनुसार प्रदत्त ज्येष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चित गर्न र ज्येष्ठ नागरिकको वर्गीकरण अनुसार सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा, सुविधा र सहयोग सरल रुपमा प्रदान गर्न परिचय पत्रले काम गर्नेछ । सदमुकाम पुग्नु पर्ने काम घर नजिकै सहज रुपमा भएपछि वृद्ध बृद्धा हर्षित बनेका छन् ।
यस अघि जेष्ठ नागरिक परिचय पत्र लिन महिला तथा बालबालिका कार्यालय सदरमुकाममा नै धाउनुपर्ने बाध्यता थियो । स्थानीय सरकार बनेपछि गाउँघरमै वितरण थालिएको गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले बताए ।
गाउँपालिकाले प्रत्येक वडा कार्यलयबाट जेष्ठ नागरिक परिचय पत्र लिने व्यवस्था मिलाएको छ । जेष्ठ नागरिकलाई लक्षित गर्दै विभिन्न ठाउँमा जेष्ठ नागरिक विश्राम स्थल बनाइने आचार्यले बताए ।
२०७५ असोज १७ गते प्रकाशित